Tuesday, December 4, 2007

कुखुराको मासुमा २५ वर्षपछि ब्रासलेट भेटियो

आरोन गिल्सले सपनामा पनि चिताएका थिएनन्, उनले हराएको बाला (ब्रासलेट) भेटिनेछ तर २५ वर्ष कुर्नुपर्छ । आरोनलाई त्यस्तै भयो । फेयरमोन्टका एक मासु बिक्रेताले कुकुरा काटे, अनि त्यसलाई छिलेर टुक्रा पार्छुभन्दा एउटा पुरानो चम्किलो वस्तु फेला पारे । त्यो चम्किलो वस्तुलाई धोइपखाली हेर्दा त त्यसमा कसैको नाम, ठेगाना र फोन नम्बरसमेत कुँदेको पाए । "मैले एउटा कुखुराका मासु पसलबाट फोन पाएँ, भनिएको थियो- तपाइँको बाला भेटेँ लिन आउनु होला", अनुहारै दिप्त बनाउँदै आरोन गिल्सले एपी समाचार संस्थालाई बताए- "अब तपाइँ आफैँ भन्नुहोस्, यसपछि मेरो प्रतिक्रिया के थियो होला !"गिल्स त्यसबेला ४/५ वर्षका थिए, जतिबेला उनले यो बाला हराए । उनी साथीहरुसँग लुकामारी खेल्दै थिए कि अकस्मात उनले लगाएको बाला हरायो । त्यतिबेला उनले निकै खोजे । उनका बा-आमाले पनि त्यो खोज्न सघाए । तर त्यो हराएको हरायै भयो । अहिले उनी लक्का जवान मात्र होइन, दुइ सन्तानका बाबुसमेत बनिसकेका छन् र ३१ वर्षका पुगिसके ।अब त्यति पुरानो कुरा उनलाई सम्झना हुने कुरा पनि भएन । कुरा कतिसम्म परिवर्तन भइसकेको थियो भने उनको स्थायी बसोबाससमेत परिवर्तन भइसकेको थियो । उनको पुरानो बासस्थानभन्दा ४५ माइल टाढा घर बनाइसकेका थिए । पुरानो नम्बर परिवर्तन भएर नयाँ बनाइसकेका थिए । तर पनि ती मासु पसलले उनलाई खोजिकन छाडे । एल्मोर नामक ठाउँबाट ल्याइएको कुखुरामा गिल्सको यो बाला फेला परेको थियो । "यो यति पुरानो भइसक्दा पनि खासै परिवर्तन आएको पाइनँ", गिल्सका पिताले आश्चर्य मान्दै भने- "यसमा कुँदेको नाम, फोन नम्बर र ठेगाना यति स्पष्ट थियो कि यो मैले पाएको भए पनि फिर्ता पठाइदिन्थेँ होला ।" त्यसो त यसमा यति राम्रोसँग नाम, ठेगाना कुँदिएको थियो कि गिल्सका पिताले निकै वर्षसम्म यो पाइएला कि भन्ने आशा गरेका थिए । तर निकै वर्ष बितिसक्दा पनि यसको पत्तो नपाएपछि माया मारिसकेका थिए । छोरा गिल्स भन्छन्- "अब यसलाई हराउने मेरो कुनै नयाँ योजना छैन ।"

No comments: