Tuesday, December 4, 2007

भूसभित्रको आगो बन्दै छ एचआईभी/एड्स


बीस वर्षअघि नेपालमा देखा परेको एचआईभी सहर हुँदै ग्रामीण क्षेत्रमा पनि भूसभित्रको आगोसरह झन्-झन् फैलिंदै गएको छ। यस अवधिमा करिब ५ सय युवायुवतीको एचआईभी/एड्सबाटै ज्यान गइसकेको छ भने झन्डै ७२ हजार व्यक्तिको शरीरमा एचआईभीका जीवाणु छिरिसकेको अनुमान छ।
सन् १९८८ मा चार जना यौनकर्मीमा फेला परेको एचआईभीबाट अहिले हरेक दिन १५ जनाभन्दा बढी सङ्क्रमणमा पर्ने गरेको यस क्षेत्रमा कार्यरत विज्ञहरु बताउँछन्। सन् १९८१ मा अफ्रिकामा पहिलो पटक देखा परेको एचआईभी/एड्सले विश्वभर साढे चार करोडभन्दा बढी व्यक्तिलाई प्रत्यक्ष पिरोलेको छ।
एसियाली मुलुकहरुमध्ये सबैभन्दा ठूलो महामारी भोगिरहेको भारतमा ५० लाखभन्दा बढी व्यक्ति एचआईभी/एड्सबाट पीडित छन्। छिमेकी मुलुक भारतमा काम गर्न जाने र घर फर्कंदा एचआईभीका जीवाणु बोकेर वा एड्सरोगी भएर फर्कनेहरुका कारण पहाडी जिल्लाहरुमा एचआईभी/एड्स फैलिंदै गएको एचआईभी/एड्स विशेषज्ञ डा. शशि शर्मा बताउनुहुन्छ।
फेरिंदै छन् एचआईभीवाहक
दुई दशकअघिसम्म एचआईभीको वाहकका रुपमा यौनकर्मीहरुलाई मात्र लिने गरिन्थ्यो। स्वच्छन्द यौन जीवनशैली र नैतिकतासँग एचआईभी/एड्सलाई जोडेर हेरिएका कारण सरकारले पनि यसको रोकथाम र नियन्त्रण गैरसरकारी संस्थाको काँधमा राखिदियो। राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका निर्देशक डा. पदमबहादुर चन्दका अनुसार यौनकर्मी र दुर्व्यसनीहरुमा एचआईभी देखिँदा ती क्षेत्रमा गैससहरु नै कार्यरत रहेकोले सरकारी तवरबाट त्यति चासो र चिन्तासँगै र्सतर्कता अपनाइएन।
त्यस बेला यौनकर्मी र दुर्व्यसनीहरु फेला परे उल्टै गिरफ्तार गर्ने सरकारी कार्यले एचआईभीले झन् विस्तार हुने मौका पाएको थियो। अन्तराष्ट्रिय गैरसरकारी संस्था फेमिली हेल्थ इन्टरनेसनल -एफएचआई)को एक प्रतिवदेनले काठमाडौं उपत्यकाभित्र हाल करिब ८ हजार यौनकर्मी र तीनका ग्राहक २ लाख भएको जनाएको छ। स्याक्ट्स/एकीकृत स्वास्थ्य सेवा नामक संस्थाले काठमाडौंलगायत पूर्व-पश्चिम राजमार्गछेउछाउका २२ वटा जिल्लामा यौनकर्मीहरुबीच सन् २००६ मा गरेको एक सर्वेक्षणमा ४ दशमलव ६ प्रतिशत महिला यौनकर्मीमा एचआईभी भएको उल्लेख छ। काठमाडौंमा गरिएको सर्वेक्षणमा करिब दुई प्रतिशत यौनकर्मीमा एचआईभी भएको पाइएको छ।स्याक्ट्सकी प्रोजेक्ट कोअर्डिनेटर पूर्णादेवी मानन्धर यौनकर्मीका रुपमा किशोरीहरु पनि देखा पर्न थालेको उल्लेख गर्दै भन्नुहुन्छ- ँकन्डम प्रयोग गर्नुपर्छ भन्ने ज्ञान भए तापनि ग्राहकको इच्छामा भर पर्नुपर्छ। ग्राहकले आ…. मन पर्दैन भनेपछि कन्डम प्रयोग नहुने हुनाले एचआईभीको जोखिम झन् बढ्दो छ।’
यौनकर्मी र तीनका ग्राहकमा संख्यात्मकरुपमा एचआईभी बढी देखिए पनि सुईबाट लागूऔषध लिनेहरुबीच पनि एचआईभीको सङ्क्रमण बढ्दो छ। दुर्व्यसनीहरुको क्षेत्रमा कार्यरत युथ भिजनका कोअर्डिनेटर विजय पाण्डे अधिराज्यभर भन्डै ८० हजार लागूपदार्थ प्रयोगकर्ता भएको बताउनुहुन्छ। जसमध्ये करिब ३५ हजार दुर्व्यसनीले सिरिन्जबाट लागूपदार्थ लिने गर्छन्। कोअर्डिनेटर पाण्डे एक जना दुर्व्यसनीले दैनिक ३ पटकसम्म सिरिन्जबाट लागूऔषध लिने गरेको उल्लेख गर्दै भन्नुहुन्छ- ँनयाँ सिरिन्ज किन्ने पैसा नभएपछि एउटै सिरिन्ज धेरै जनाले प्रयोग गर्छन्।’ यसरी असुरक्षितरुपमा सिरिन्जको प्रयोग गर्दा एचआईभी सर्ने सम्भावना बढी हुन्छ। एचआईभी सङ्क्रमित व्यक्तिले प्रयोग गरेको सुई निरोगी व्यक्तिले प्रयोग गर्दा जीवाणु र्सन पुग्छ। नेपालमा ३० हजारभन्दा बढी दुर्व्यसनीहरुमा एचआईभी भएको अनुमान छ।
मुलुकमा विद्यमान बेरोजगारी र द्वन्द्वका कारण विस्थापित जीवन बिताउने र कामको खोजीमा भारतलगायत अन्य मुलुकमा गएका कतिपय व्यक्तिहरु पनि एचआईभी वाहक भएको पाइएको छ। राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका निर्देशक डा. पदमबहादुर चन्दका अनुसार पछिल्लो समयमा बसाइँसराइ गरेका परिवार र कामका लागि भारत गएर फर्किएका व्यक्तिको परिवारमा एचआईभी देखापरेको छ। डोटी, कैलाली, अछाम जिल्लाको उदाहरण दिंदै उहाँ भन्नुहुन्छ- ँग्रामीण क्षेत्रमा पनि एचआईभीको सङ्क्रमण ह्वात्तै बढेको छ।
दुई महिनाअघि डोटीस्थित जिल्ला अस्पतालमा ल्याइएका ५० जनामध्ये ४८ जना महिलामा एचआईभी पोजेटिभ देखिएको उपचारमा संलग्न एचआईभी/एड्सविज्ञ डा. शशि शर्मा बताउनुहुन्छ। अछामको चाल्सा गाविसका भरत साउदका अनुसार विगत चार वर्षको अवधिमा सो गाविसमा मात्र १२ जना व्यक्तिको एड्सबाट मृत्यु भएको छ। मर्नेहरु सबै भारतमा काम गरी फर्केकाहरु भएको उनले बताए।
कामको खोजीमा घर छोड्नेहरुमध्ये भारतमा मात्रै १० लाखभन्दा बढी नेपालीहरु छन्। त्यस्तै तेस्रो मुलुकमा जानेहरु २० लाखभन्दा बढी छन्। पत्नीसँग टाढा रहँदा असुरक्षित यौनसम्पर्क गर्ने पुरुष मात्र नभएर श्रीमान् नभएको बेला परपुरुषसँग असुरक्षित यौनसम्बन्ध राख्ने महिलाहरु पनि एचआईभी वाहक बन्न पुगेका छन्।
६ वर्षा एक पटक बैठक !
एचआईभी सङ्क्रमित व्यक्तिको पहिचान भएको एक दशकपछि मात्र सरकार र अन्य गैरसरकारी संस्थाले चासो र चिन्ता लिन थालेका हुन्। सुरुमा एचआईभी सङ्क्रमितलाई गरिने दुर्व्यवहार र उपेक्षाका कारण उनीहरु झन् तिरष्कृत हुन थाले। फलस्वरुप एचआईभी/एड्सको सङ्क्रमण बढ्न पुग्यो।
विगत १० वर्षदेखि एचआईभी सङ्क्रमितहरुको उपचारमा संलग्न हुँदै आउनुभएका डा. शशि शर्मा अनुभव सुनाउँदै भन्नुहुन्छ- ँएचआईभी सङ्क्रमितसँग अन्य डाक्टरहरु नै डराउँथे। सम्बन्धित सरकारी निकाय र स्वयम् डाक्टरहरुले नै मलाई एचआईभी डाक्टर भनी अपाच्य व्यवहार दर्शाउँथे।’ उपचारमा संलग्न चिकित्सकलाई समेत हीनताबोध गराउने तत्कालीन अवस्थामा एचआईभी सङ्क्रमितलाई परामर्श र उपचार सेवालगायतका विषय निकै टाढाका थिए।
एचआईभी फेला परेको सात वर्षkछि सन् १९९५ मा सरकारले एचआईभीसम्बन्धी १२ बुँदे राष्ट्रिय नीति ल्याएको थियो। सोही नीतिअन्तर्गत राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्र र ७५ वटै जिल्लामा जिविस सभापतिको संयोजकत्वमा जिल्ला एड्स समन्वय समिति गठन गरिएको हो। तर अहिलेसम्म एचआईभी/एड्ससम्बन्धी कार्यक्रमलाई सबै जिल्लामा विस्तार गर्न नसकिएको राष्ट्रिय तथा यौनरोग नियन्त्रण केन्द्रका निर्देशक डा. पदमबहादुर चन्द बताउनुहुन्छ। जिल्ला एड्स समन्वय समिति पनि अपेक्षाकृत क्रियाशील हुन नसकेको स्वीकार्दै डा. चन्द भन्नुहुन्छ- ँअब निर्देशिका तयार पारी जिल्लामा साझेदारी गरेर कार्यक्रम सञ्चालन गर्ने र समितिलाई पनि सक्रिय बनाउने योजना छ।’
एचआईभीविरुद्ध बहुपक्षीय प्रयासको खाँचो देखाउँदै सन् २००२ मा प्रधानमन्त्रीको अध्यक्षतामा गठित राष्ट्रिय एड्स परिषद् नाम मात्रको छ। ६ वर्षको अवधिमा एक पटक मात्र बैठक बसेको स्वास्थ्य मन्त्रालय निकट स्रोतले बताएको छ। त्यस्तै स्वास्थ्यमन्त्रीको अध्यक्षतामा गठित राष्ट्रिय एड्स समन्वय समितिको पनि एक पटक मात्र बैठक बसेको छ। मन्त्रालयका एक कर्मचारी भन्छन्- ँएचआईभी/एड्सको चुनौती जटिल हुँदै गएको छ तर चुनौती सामना गर्न त्यहीअनुरुप प्रतिबद्धता र संयन्त्र नै देखिंदैन।’
जेनतेन सरकारी उपस्थिति देखाइरहेको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्र स्थापना भएको १२ वर्षको अवधिमा १२ पटक नेतृत्व परिवर्तन भएको छ। केही महिनाअघि मात्र केन्द्रमा निर्देशकको जिम्मेवारी सम्हाल्न आउनुभएका डा. चन्द भन्नुहुन्छ- ँएउटा पद्धतिअन्तर्गत कार्यक्रम-नीति छन् र दिशा पनि स्पष्ट छ भने नेतृत्व परिवर्तन हुँदैमा फरक पर्दैन। तर सबै कुरा नेतृत्वमै निर्भर हुने हो भने निश्चितरुपमा प्रभाव त परिहाल्छ।’ स्मरणीय छ, केन्द्रका वरिष्ठ मेडिकल अधिकृत डा. पुलकित चौधरी क्यानडाको टोरन्टोमा एचआईभी/एड्ससम्बन्धी सेमिनारमा मुलुकको प्रतिनिधित्व गर्दै एक वर्षअघि गएकोमा उतै पलायन हुनुभएको छ। सरकारी र गैरसरकारी क्षेत्रबाट एचआईभी/एड्ससम्बन्धी गरिएका विभिन्न कार्यक्रमले केही हदसम्म जनचेतना वृद्धि गरे पनि समन्वयका अभावमा प्रभावकारी उपलब्धि हासिल हुन नसकेको विज्ञहरु बताउँछन्।
जीवन लम्ब्याउन एआरभी
एचआईभी भएका व्यक्तिहरुलाई आयु लम्ब्याउन दिइने एन्टिरेक्ट्रो भाइरल -एआरभी) उपचार कार्यक्रम सुरु गरिए पनि सहरी क्षेत्रमा मात्र सीमित छ।
एचआईभी देखा परेको डेढ दशकपछि वि.सं. २०६० माघ मसान्तदेखि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, काठमाडौंबाट एआरभी सेवा सुरु भएको हो। अहिले अधिराज्यभर १६ स्थानबाट एआरभी सेवा प्रदान गरिएको जानकारी दिँदै राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका निर्देशक डा. पदमबहादुर चन्द चालू आर्थिक वर्षा सेवा विस्तार गरी १४ अञ्चलमै पुर्‍याउने योजना रहेको बताउनुहुन्छ।
शरीरमा रोग-प्रतिरोधात्मक क्षमता (CD Four) २ सयभन्दा कम भएका व्यक्तिले एआरभी सेवा लिन सक्छन्। निःशुल्क रुपमा एआरभी सेवा प्रदान गर्न ग्लोबल फन्डले सहयोग गरिरहेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार एचआईभी संक्रमितमध्ये १५ प्रतिशतलाई एआरभी औषधिको आवश्यकता पर्दछ। गैरसरकारी संघसंस्थाहरुले नेपालमा एचआईभी संक्रमित ७२ हजार भएको उल्लेख गरेअनुरुप १ हजार ५ सयभन्दा बढीले यो सेवा पाउनुपर्ने देखिन्छ। तर सरकारी तथ्यांकमा भने एचआईभी संक्रमितको संख्या झन्डै साढे दश हजार रहेको उल्लेख छ। केन्द्रका निर्देशक डा. चन्दका अनुसार अधिराज्यभर १ हजारभन्दा बढी एचआईभी संक्रमितले निःशुल्क रुपमा एआरभी सेवा पाइरहेका छन्।
संक्रमितले आफ्नो शरीरमा एचआईभी जीवाणुको अवस्था थाहा पाउन भाइरल लोडको परीक्षण गराउनुपर्छ। यस परीक्षणबाट एआरभीको प्रभावकारिता जाँच्न सकिन्छ। तर नेपालमा भाइरल लोड मेसिनको परीक्षण सुविधा नहुँदा संक्रमितहरुले रगतको नमुना भारत, थाइल्यान्ड आदि मुलुकका प्रयोगशालामा पठाउने गरेका छन्।
सामूहिक प्रयासको खाँचो
सन् २०१५ सम्म एचआईभी संक्रमणलाई वृद्धि हुन नदिने र घटाउँदै लैजाने लक्ष्य निर्धारण गरिएको छ। अधिकांश मुलुकले यो लक्ष्य प्राप्त गर्न नसक्ने भएपछि सन् २००५ मा एचआईभी/एड्ससम्बन्धी सूचना, शिक्षा, सेवा र उपचारमा सबैको पहुँच -युनिभर्सल एक्सेस)को अवधारणा अघि सारिएको छ। यस अवधारणालाई पनि लागू गर्न सक्ने क्षमता नेपालको हालको अवस्थाले देखाउँदैन।
मुलुकको दशौं पञ्चवर्षीय योजनामा एचआईभी/एड्सलाई ँराष्ट्रिय विकासमा चौतर्फी प्रभाव पार्ने विषय’को रुपमा स्वीकार गरिएको थियो। यद्यपि कागजी योजनाअनुरुप कार्यान्वयन पक्ष कमजोर देखिएको छ।
एचआईभी/एड्सको चुनौती चुलिंदै गएकाले त्यसको सामना गर्न सरकार र यस क्षेत्रमा कार्यरत सयौं गैरसरकारी संघसंस्थाबीच समन्वयको खाँचो रहेको देखिन्छ। यसको समाधान एकल उपाय एवम् प्रयासबाट मात्र सम्भव नभएकाले जनचेतना, रोकथाम, नियन्त्रण र उपचारात्मक सेवालाई राष्ट्रियस्तरमा एकीकृत कार्यक्रमका रुपमा सञ्चालन गर्नु जरुरी छ।

No comments: