Tuesday, December 4, 2007

अन्धविश्वासको परिणाम

विश्व एक्काइसौं शताब्दीमा प्रवेश गरेको तथा विज्ञान र सूचना प्रविधिका क्षेत्रमा चरम विकास भए पनि हाम्रो मुलुकमा रुढिवादी तथा अन्धविश्वासका कारण अप्रिय घटना भइरहेका छन्। पुरातनवादी सोच र अन्धविश्वासले वास्तवमै मानवताको खिल्ली उडाइरहेको पाइन्छ। हालै मात्र पश्चिम नेपालको अर्घाखाँची जिल्लामा भएको एउटा हत्याकाण्डले अन्धविश्वासका कारण मानिस कतिसम्म निर्दयी बन्न पुग्दोरहेछ भन्ने दर्शाएको छ।घटना विवरणअनुसार सो जिल्लाको खिदिम गाविस-४ निवासी ६० वर्षीय शिवे कुमाललाई आफ्नै छिमेकका नाति पर्ने चार युवकले ँबोक्सो’को आरोप लगाएर अपहरणपछि हत्या गरेको रहस्योद्घाटन भएको छ। यही मंसिर २ गते छिमेकमा भएको विवाहबाट राति १२ बजेतिर घर फर्किएको बेलादेखि हराएका कुमाल दुई हप्तापछि गत सोमबार मृत अवस्थामा भेटिएका थिए। कृष्णबहादुर, भुपेन्द्रबहादुर, प्रचण्डबहादुर र महेन्द्रबहादुर कुमालले निज वृद्धलाई सोही रात अपहरण गरी हत्या गरेको स्वीकारेका छन्। प्रहरीले मृतक शिवे कुमालको शव सोही गाविसको रानीदह भन्ने ठाउँमा फेला पारेपछि हाल अभियुक्तहरूविरुद्ध कारबाही चलाएको छ।अर्घाखाँचीको यो घटना त एउटा उदाहरण मात्रै हो, मुलुकका अन्य स्थानमा पनि यस्ताखाले घटना बारम्बार भइरहेका छन्। अझ तराई क्षेत्रका केही ठाउँमा निमुखा, निर्धा र असहाय महिलालाई बोक्सीको आरोप लगाएर दिसापिसाब खुवाउने, नांगेझार पार्दै सिस्नोपानी लगाउने, र्सार्वजनिकरुपमा बेइज्जती गर्ने, गाउँ निकाला गर्नेजस्ता विभिन्न खालका मानवताविरोधी गतिविधि हुँदै आएका छन्। बालबालिका तथा जनावर बिरामी परेमा रिस उठेका व्यक्तिलाई बोक्सीको आरोप लगाउने र यातना दिने दुष्कार्य नरोकिएकाले समाज नै कलंकित बन्दै आएको छ।घरछिमेकमा कोही व्यक्ति मन नपरेमा वा रिस उठेमा उसैविरुद्ध बोक्साबोक्सीको दोष लगाउने र सताउने गरिएकाले पीडितहरूले न्याय पाउन सकेका छैनन्। ँसमाज’ नामको समूहले पनि विवेकपूर्ण निर्णय र न्याय दिन नसक्दा निमुखाहरू अझ कतिसम्म अनावश्यक पीडाबाट प्रताडित हुने हुन् कुनै टुंगो छैन। तर अब पनि यस्तो हिंसात्मक घटनालाई चुपचाप हेरिरहनुभनेको पीडितमाथि झन् अन्याय गर्नु रहेकाले समाजका सचेत वर्ग जुर्मुराउनु नै पर्दछ। समाजमा व्याप्त अन्धविश्वास, रुढिवादी, कुरीति, कुसंस्कार र असभ्य व्यवहारको अन्त्य गर्न सचेत एवम् जागरुक युवाहरूले अभियान नै सञ्चालन गर्नु आवश्यक छ। शिक्षा र जनचेतनामूलक कार्यक्रमहरू बनाएर पिछडिएका तथा पीडित समाजमा जानुपर्छ र सभ्यता, विकास, भाइचारा, सामाजिक सद्भाव जगाउनुपर्छ ताकि भविष्यमा यस्ता आपराधिक घटना दोहोरिन नपाऊन्।

No comments: