Friday, November 30, 2007

सुँगुरलाइ स्वर्ग

सुँगुरलाइ स्वर्ग





बाहमासको निजी द्विपमा ऐशपूर्ण जिन्दगी जिउने मान्छेको कथा त तपाइँले थाहा पाउनु भएको होला, तर के सुँगुर पनि यस्तो ऐशपूर्ण जीवन बिताइरहेको छ भन्ने तपाइँले कल्पना गर्नु भएको छ ? तर छक्क नपर्नुस्, बेब नाम एउटा सुँगुरको जीवन तपाइँले कल्पेजस्तो फोहोरी ठाउँमा बितिरहेको चाहिँ छैन ।बेब नामक आठ वर्षे यो घरेलु सुँगुरले स्वर्गको अनुभूति यहीँ आएर गर्न पायो । अब कसरी भन्ने सोच्नु हुन्छ भने- यसले यो द्विपमा समुद्री किनारमा न्यानो घाम ताप्न पाइरहेको छ, समुद्रमा पौडिन पाइरहेको छ अनि साथमा 'हट डग'जस्ता खाजा र बियर पनि पिउने अवसर पाइरहेको छ ।यत्रो टाढाको द्विपमा उसलाई यो अवसर चाहिँ पेशाले भिडियोग्राफर ल्युक एबोटले जुराएका हुन् । उनले यो सुँगुरलाई यहाँ तबदेखि पालिरहेका छन्, जब यो मात्र एक महिनाको थियो । एक महिने शिशु सुँगुर अहिले कतिसम्म शोखिन बनिसकेको छ भने उसले एक दिन पनि पौडिन पाएन भने घरमा उपद्रो मच्चाउँछ । यहाँ ल्युक र उनकी श्रीमती यो बेब नामक सुँगुरसँगै बस्ने गरेका छन् । शुरुताका मज्जाले हट डग मन पराउने बेबले बिना कुनै हिच्किचाहट खाकोखायै गर्दथ्यो । त्यही भएर उसको वजन पनि ह्वात्तै बढ्यो । यो देखेर एबोटले उसलाई आफूसँगै दैनिक 'जगिङ'मा लैजान थाले । 'जगिङ'पछि बेबले नजिकैको समुद्रमा पौडिन पनि थाल्यो । त्यसपछि ऊ केही हदसम्म 'स्लीम' बनेको हो ।"यसलाई आफ्नो दैनिक निकै प्यारो छ र आफ्नो दैनिकीलाई अक्षरशः पालना गर्छ । जगिङपछि सुमद्रमा पौडिन्छ र भोक लागेपछि मज्जाले हट डग खान्छ । अनि, मज्जाले नथाकुञ्जेल दिनभर पौडी खेलिरहन्छ", बेबका मालिकले एनानोभालाई बताए ।

No comments: