Saturday, December 1, 2007

बीच शहरमा १८ हजार नग्न व्यक्ति

यो तश्वीर हेरेर के को बिस्कून सुकाइएछ भन्ने सोच्नु भयो होला ! तर यो बिस्कून कुनै अन्नको भने होइन । मेक्सिकोको राजधानी शहर मेक्सिको सिटीमा एक साथ १८ हजार नरनारीहरु भेला भएर नग्न रुपमा उभिए । गएको आइतबार यत्तिका नरनारीलाई भेला गराएर तिनलाई नग्न बनाई अमेरिकी कलाकार तथा चर्चित फोटोग्राफर स्पेन्सर टनिकले तिनको फोटो खिचे । तर अचम्म नमान्नुहोस्, यी टनिक चाहिँ अलि खुस्केका नै छन् । यसअघि पनि ७ हजार नरनारीलाई सन् २००३ मा स्पेनमा भेला पारेर यस्तै फोटो खिचेका थिए । यो उनको रेकर्ड नै थियो । यस पटक मेक्सिकोमा आएर अर्को रेकर्ड बनाएका हुन् । यो फोटो खिच्ने क्रिया कुनै रक कर्न्र्सटभन्दा कम थिएन । किनभने ती फोटो खिचाउनेहरुलाई पाँच घण्टासम्म उत्तेजित बनाइरहन लगातार सङ्गीत बजाइएको थियो । र, त्यो सानोतिनो साउण्डबक्स थिएन, पूरा २० हजार मान्छे अटाउने शहरको आँगन जोकालो स्क्वायरलाई हल्लाउन सक्ने क्षमताको थियो । गीतले मात्र नपुगेर बीचबीचमा सहभागीहरुले 'मेक्सिको ! मेक्सिको !!' भनेर चिच्याएका थिए । "वाह ! क्या गज्जबको क्षण थियो यो मेक्सिकाली कलात्मक दृश्यको !!" ४० वर्षीय टनिकले फोटो खिचिसकेपछि सम्वाददाताहरुलाई भने- "अमेरिकाले एक पटक आफ्नो आँखा खोलोस् र यो दक्षिणी राष्ट्रतिर नजर पुर्‍याओस् कि कलाका लागि यहाँका जनता कत्ति मरिहत्ते गर्छन् ! त्यसका लागि आफूलाई नग्न बनाउन पनि रत्तिभर हिच्किचाउँदैनन् ।"नरनारीहरुको संयुक्त यो फोटो खिचाइपछि जोकालो स्क्वायरमा छायाँकार टनिकले महिलाहरुको बेग्लै फोटो खिचे । तर केही महिलाले छायाँकारसँग गुनासो गरे- "केही छट्टु पुरुषहरुबाट मोबाइलमा हाम्रा नग्न तश्वीरहरु लिइए !"प्रहरी पनि यो फोटो खिचाई प्रति कति सकारात्मक थियो भने खिचाई अवधिका लागि कतिपय पसलहरु बन्द गरिदिएका थिए । बिहान ८:३० बाट फोटो खिच्न शुरु गरिएको थियो ।










No comments: