Saturday, December 1, 2007

गुगल र एएफपीको झगडा साम्य

गुगलका बारेमा कसलाई थाहा छैन, तर तपाइँलाई थाहा नहुन सक्छ कि गुगलले सर्च इञ्जिनबाहेक गुगलअर्थ, जीमेल, डेस्कटप सर्च, पिकासा फोटो इडिटर, बुक सर्च, फ्रुगल (नेटमा उपलब्ध सामग्रीहरुको मूल्य तुलना गर्ने) जस्ता सुविधाहरु उपलब्ध गराइरहेको छ । गुगलले संसारभर नेटमा उपलब्ध समाचारहरु पनि केही क्षणमै उपलब्ध गराउने गरेको छ । यसले उपलब्ध गराउने गुगल न्यूज हेडलाइन संसारभर प्रख्यात छ । यसले प्रख्यात न्यूज एजेन्सीहरु एपी, एएफएपीलगायत अन्य समाचार संस्थाका खबरहरु खोजेर तपाइँको सामू हाजीर गराउने गरेको छ । तर, नेटमा उपलब्ध सबै समाचारहरु उपलब्ध गराउँदा केही समयअघि फ्रान्सको पेरिसस्थित मुख्य कार्यालय भएको एएफपी (एजेन्सी फ्रान्स प्रेस) ले आफ्नो प्रतिलिपि अधिकार हनन् भएको भनी मुद्दा हालेको थियो । यस्तै एउटा मुद्दामा एपी (अमेरिकाको एसोसिएटेड प्रेस) समाचार संस्थासँग उसले समाधान गरिसकेको थियो ।न्यूयोर्क टाइम्सका अनुसार, गुगलका विरुद्ध प्रतिलिपि अधिकार हनन् भएको उक्त मुद्दालाई अहिले छिनोफानो गरिएको छ । जसअनुसार गुगलले एएफपीले भेला पारेका फोटा तथा समाचारहरु गुगलले खोजेर नेटमा राखिदिने सम्झौता भएको छ । सन् २००५ को मार्च महिनामा गुगलविरुद्ध समाचार संक्षेप, समाचार शीर्षक र अन्य सेवाहरु गुगलले खोजेर राखिदिने विरुद्धमा एएफपीले मुद्दा हालेको थियो । तर यो मुद्दामा उनीहरु कसरी मिले, कति पैसामा मिले भन्ने खुलासा भने गरिएको छैन । यो सम्झौतापछि गुगलले एएफपीले खोजेका समाचारलाई संक्षेपमा राख्न र फोटो देखाउन पाउनेछ । गएको अगस्ट महिनामा यस्तै मुद्दा एपीसँग पनि किनारा लगाइसकेको छ । एपीसँग पनि कस्तो सम्झौता कतिमा गरिएको हो भन्ने पनि खुलाइएको थिएन । एएफपीका स्ट्राटेजिक प्लानिङ एण्ड पार्टनरशीपका निर्देशक एरिक सेररले पत्रकारहरुलाई भने- "अब यस्तै समाधान हामीले एओएल, याहू र एमएसएनसँग पनि मिलाउनु पर्ने भएको छ । गुगलले हाम्रो समाचारलाई नयाँ शैलीमा प्रस्तुत गर्नेछ ।" तर उनले त्यो नयाँ शैली के हुने भन्ने खुलाएनन् ।

No comments: