Saturday, December 1, 2007

रगत ! अब चिन्ता किन ?




डेनमार्कका एक डाक्टरले जुनसुकै रक्त समूहलाई 'ओ'मा परिवर्तन गर्न सकिने प्रविधि पत्ता लगाएका छन् । 'ओ' रक्त समूहलाई युनिभर्सल रक्त समूह मानिन्छ र यो रक्त समूहले अन्य रक्त समूह भएका व्यक्तिलाई रगत दिएर बचाउन पनि सकिन्छ । युनिभर्सिटी अफ कोपनहेगनका अन्वेषकहरुले ब्याक्टेरियामा दुइ अनौठा ग्लाकोसिडेस इन्जाइमहरु फेला पारेका छन्, जसले रक्तकोषमा भएका सुगरका अणुहरुलाई हटाउने गर्दछ । यसले रगत लिने विरामीमाथि हुने इम्युन रिएक्सनलाई उत्तेजित बनाउने गर्दछ । यदि यी इन्जाइमको प्रभावलाई नगण्य पार्ने हो भने कुनै पनि रक्त समूहको रगतलाई 'ओ' बनाएर त्यो रगतलाई मानवमा उपयोग गर्न सकिन्छ । नेचर बायोटेक्नलजीले हालै यो कुरा प्रकाशमा ल्याएको हो ।खोजकर्ताहरुका अनुसार यस्तो रगतलाई भविष्यमा कसरी प्रयोग भन्ने विषयमा अन्वेषण भइरहेको छ । प्रकाशित विवरणअनुसार, ब्याक्टेरियामा हुने इन्जाइमहरुले 'ए', 'बी' रक्त समूहका 'एन्टिजेन्स'लाई हटाउने गर्दछ । एन्टिजेन्स हटाइएपछि बनेको रगतलाई अन्य विरामीलाई प्रयोग गराउँदा त्यसले कुनै किसिमको समस्या पैदा नगराउने बताइएको छ ।अन्वेषणकर्ताहरुले रगतमा पाइने २ हजार पाँच सय ब्याक्टेरिया र फन्जाइमाथि अध्ययन गरिरहेका छन्, जसले रक्तसमूहका एन्टिजिन्सलाई हटाउन मद्दत गर्नु सकून् । त्यसो त यसरी एन्टिजीन्सहरुलाई हटाउने तरिका सन् १९८० को दशकबाट नै कफीको प्रयोगबाट गरिँदै आएको हो । तर यो नयाँ तरिका कफीको बियाँबाट निस्कने 'बी' इन्जाइमभन्दा एक हजार प्रतिशत बढी उपयोगी मानिएको छ । यदि यो प्रयोग सफल भयो भने रगतको ज्यादै आवश्यक परेको बेला तेरो रक्त समूह मिलेन, तैँले रगत दिन मिल्दैन भन्ने जस्ता दुखद् वाक्यहरु सुन्नु पर्ने छैन । नेपालमा रक्त सञ्चार सेवाका ५६ केन्द्रमार्फत् आवश्यक रगत विरामीहरुलाई उपलब्ध गराइने गरेको छ । जसमध्ये २२ वटा केन्द्रहरु नियमित रुपमा सञ्चालित छन् भने १५ वटा केन्द्रहरुले अस्पतालसँग सहकार्य गर्ने गर्दछन् । काठमाडौँस्थित रक्त सञ्चार सेवा (ब्लक बैंक) सँग हरेक दिन एक हजार पिन्ट रगत सङ्कलित हुने गर्दछ । यदि यो प्रविधि नेपालमा पनि भित्रिन सके, अकालमा अनेकको ज्यान जानबाट रोक्न सकिने छ ।

No comments: