Saturday, December 1, 2007

मृत्युपछि पनि जागीर र प्रमोशन


भारतको मणिपुर राज्यको विद्युत विभागमा काम गर्ने एल. निङथेमजाओले सन् २००१ मा जागीरबाट अनिवार्य अवकाश पाए । अवकाशपछि पाइने रकम पनि कार्यालयीय नियमअनुसार समय-समयमै उनको नामबाट गई नै रहन्थ्यो । तर २००१ मा अवकाश पाउनुअघि नै ती कर्मचारीको मृत्यु भइसकेको र उनले पाउनुपर्ने जागीरको पैसा मृत्यु हुने कर्मचारीका घरका व्यक्तिले नपाएको कुरा प्रकाशमा आएको छ ।हिन्दुस्तान टाइम्सले बिहीबारको अङ्कमा छापेको समाचार अनुसार अहिले जागीरे निङथेमजाओका परिवारका व्यक्तिले लामो समयपछि आफ्नो श्रीमानले पाउनुपर्ने रकम नपाएको भनी विद्युत विभाग र राज्य सरकारको सञ्चार मन्त्रालयमा सूचनाको हकसम्बन्धी मुद्दा दायर गरेपछि यो समाचार प्रकाशमा आएको हो ।निङथेमजाओका छोरा ऋषिकान्त र श्रीमती तोम्बीले गएको महिना आफ्नो पिता र श्रीमानले पाउनुपर्ने रकम लामो समयदेखि नपाएको र त्यो रकममा आफ्नो हक हुने बताउँदै मुद्दा दायर गरेका हुन् । थोउबल जिल्लाको कियाम सिर्फइ गाउँका निङथेमजाओको सन् १९८५ जुन २१ मा साधारण विरामीका कारण मृत्यु भएको थियो । उनको जागीर अवधि त्यसबेला १४ वर्षपुगिसकेको थियो । उनको छोरा ज्यादै सानो र श्रीमती पढेनलेखेको हुनाले परिवारलाई मृत्युपछि हुने फाइदा थाहा हुन सकेको थिएन । त्यतिबेला मजदूरहरुको संगठनले सानोतिनो सरसहयोग गरेका थिए । कार्यालयबाट पाएको रकम भनेको उनीहरुले त्यत्ति मात्र थियो । ऋषिकान्तले भने- "सन् २००४ मा हामीले बुवाको पेन्सनका बारेमा बुझ्न निवेदन दिएका थियौँ । गएको जुलाई ७ मा बल्ल राज्य सरकारको सूचना विभागले उनीहरुलाई उनीहरुलाई सूचित गर्‍यो कि ऋषिकान्तका पिता अझै जिउँदै छन् र तिनले मज्जाले जागीर खाए । त्यति मात्र होइन, उनी अहिले सेवा निवृत्त भइसकेका छन् । यो सुनेपछि तिनीहरु चकित परे ।यो सूचनापछि मात्र आफ्नो बुवाको रकम अरुले नै चप्काइसकेको थाहा पाएका थिए । कतिसम्म भने सन् १९९८ को १६ जनवरीमा उनको प्रमोशन समेत भएको थियो । जबकि उनको मृत्यु भएको त्यसबेला १३ वर्ष भइसकेको थियो । त्यस्तै उनको मृत्युको १६ वर्षपछि अगष्ट ३१, सन् २००१ मा उनले अनिवार्य अवकाश पाएका थिए । यता विद्युत विभागका कुनै पनि कर्मचारीले यस घटनाका सम्बन्धमा प्रतिक्रिया जनाउन मानेनन् । सेवा निवृत्त हुँदा उनको तलब तीन हजार रुपियाँ प्रति महिना रहेको कार्यालयले जनाएको छ । यता यत्रो वर्षदेखि एक सुका पनि नपाएको झोँकमा ऋषिकान्तले विभागलाई अर्को मुद्दा हाल्ने तयारी गरिरहेका छन् ।

No comments: