Saturday, December 1, 2007

पैसाले पाइने आमा-बुवा !

पैसाले के किन्न पाइन्न ? सामान्यतया तपाइँले भन्नुहोला, आमा-बाबु । तर पोल्याण्डकी एक महिलाले आफ्ना दुइ सन्तान हजुरबुवा-हजुरआमा बिना हुर्किरहेको पीरले इन्टरनेटमार्फत् तिनका लागि हजुरबा-हजुरआमाको आवेदन आहृवान गरेकी छिन् । रोचक त के छ भने त्यसको बदलामा उनले इमेलमार्फत् आफूलाई तिनको हजुरबा-हजुरआमा बनाउन हजारौँ आवेदन उनीकहाँ परेको छ ।उनीकहाँ आएका अधिकांश बुढाबा र आमाहरु एकल जीवन बिताइरहेका नै छन् । हालैका केही वर्षयता युरोपियन युनियनले आफ्नो सदस्य संख्या बढाएपछि पोल्याण्डसमेत सदस्य राष्ट्र हुन पुगेको छ र अधिकांश पोलिस युवायुवतीहरु स-परिवार उच्च जीवनस्तरको खोजीमा बेलायत बसाइँ सर्ने गरेका छन् । काम गर्ने हुति भएका युवाहरुले आफ्ना बा-आमालाई बिचल्ली पार्दै बसाइँ सरेपछि अहिले पोल्याण्डमा एकल जीवन बिताइरहेका हजुरबा-हजुरआमाको संख्या बढेको छ ।पछिल्लो पुस्ताका बालबालिकाहरु हजुरबा-आमा बिना हुर्किरहेकोमा त्यहाँ राष्ट्रिय चिन्ताको विषय बनेको छ । यस्तो अवस्थामा अगाथा जेमिरेसले आफ्ना सन्तान हजुरबा-आमा बिना नहुर्किऊन् भनेर शुरु गरेको अभियानलाई राम्रो प्रतिक्रिया आएको हो । पोल्याण्डको बियालिस्टोक निवासी अगाथाले आफ्ना आमा-बुवा गुमाएपछि आफ्ना सन्तानहरु बिना हजुरबा-हजुरआमा हुर्किने भए, तिनलाई रोचक लोककथा सुनाउने व्यक्तिको अभाव भयो भन्ने सोचेर आमा-बुवालाई भाडामा ल्याउने भएकी हुन्, उनले भनिन्- "म मेरा सन्तान हजुरबुवा र हजुरआमारहित हुर्किएको देख्न चाहन्नँ । त्यसैले मैले यो उपाय झिकेकी हुँ ।"तर उनले आशा गरेभन्दा बढी प्रतिक्रिया आएपछि उनी छक्क परेकी छिन् । उनले आफ्नो विज्ञापनमा लेखेकी थिइन्- "हामी एउटी हजुरआमालाई अपनाउन चाहन्छौँ, जसलाई हामी छुट्टि मनाउन, घुम्न, रमाइलो गर्न र किनमेल गर्न सघाउन सकोस् । यो पैसासँग सम्बन्धित छँदैछैन, बरु प्रेम र मायासँग सम्बन्धित छ ।"हजारौँ बूढा बा आमाले प्रतिक्रिया पठाएपछि अगाथाले एनानोभा समाचार एजेन्सीलाई भनिन्- "मलाई थाहा छ, मसँग धेरैलाई माया गर्न सक्ने ठूलो मन छ । तर पोल्याण्डभरिका यति धेरै बूढा बा-आमालाई सम्हाल्न सकूँलीजस्तो चाहिँ लागेको छैन । त्यसैले म अहिलेलाई एउटी हजुरआमा मात्र चाहन्छु मेरा दुइ छोरीका लागि !"

No comments: