Saturday, December 1, 2007

अचम्मका पशुपंक्षीहरु

बेलायतको हृयाम्पसायरस्थित एक कृषकको घरमा चार खुट्टे हाँस जन्मिएपछि त्यस ठाउँ वरपरका मानिसका लागि एउटा पर्यटकीय आकर्षणको स्थल बनेको छ । गुमनाम जिन्दगी बिताइरहेको यो हाँसको बारेमा स्थानीय अखबारहरुले छापेपछि एकै पटकमा यो 'स्टार' बनेको छ ।यो हाँस आइटीभीको बिहानी कार्यक्रम 'दिस मोर्निङ'मा देखा परेपछि यो रातारात 'स्टार' हाँस बन्न पुगेको हो । हृयाम्पसायर गजेटका अनुसार चार खुट्टे यो हाँसका मालिक निकी जानावे यही हाँसका कारण मालामाल भएकी छन् । रमाइलो के छ भने माथि उम्रिएको यसको खुट्टाले राम्रोसँग पौडी खेल्न सक्छ । निकीका अनुसार पहिले उसले उम्रिएका खुट्टाबाट पौडिने गरेको थिएन । उसको प्रगति कतिसम्म छ भने नयाँ खुट्टाको कमाल देखाउँदै नयाँ पोथी एलिस पनि खोजिसकेको छ । दुवै सँगै पौडिन रमाइलो त मान्छन् तर चार खुट्टाको कमालले उसको पौडी यति चाँडो हुन्छ कि एलिस पछाडि छुटिसकेकी हुन्छे । त्यस्तै एउटा अर्को समाचारका अनुसार अष्ट्रेलियाकी एउटी राजहाँस प्लाष्टिकले बनेको कृत्रिम स्वेत राजहाँसको प्रेममा फँसेकी छ । पूरा जाडोयाम भरि उसले प्लाष्टिकको हाँसनजिक बिताएको थाहा पाएपछि स्थानीय चिडियाघरका कर्मचारीहरुले अचम्म मानेका थिए । पेट्रा नामकी उक्त राजहाँस पेडलिङमार्फत् चल्ने राजहाँस आकारको मेसिनसँग प्रेममा फँसेकी हो । जाडो याममा सामान्यतया राजहाँसहरु दक्षिणी भेगमा बसाइँ सर्ने गरे पनि पेट्राले यस पटकको जाडो यहीँ मनाएकी थिई र कृत्रिम हाँसबाहेक अन्यत्र कतै नगएकी कर्मचारीहरुले बताए ।"पेट्राले आफ्नो प्लास्टिकको प्रेमीलाई निर्मिमेष हेरिरहने, त्यसको वरिपरि चक्कर लगाइरहने, मधुर आवाज निकालेर गीत गाउने, आदि व्यवहारका कारण ऊ पक्कै नक्कली राजहाँसको प्रेममा फँसी भन्ने थाहा हुन्छ", जर्मनीको उत्तर-पश्चिमस्थित म्युनस्टरका एक जीव वैज्ञानिकले बताए ।यति राम्रो प्लास्टिकको राजहाँसलाई अरुले भाडामा पिकनिक मनाउन लैजाने नै भए । त्यस्तो बेलामा ऊ स्वयम् पनि पिकनिक जाने गर्दछे आफ्नो प्रेमीलाई पछ्याउँदै । यस्तै अर्को एक खबरअनुसार तीन वटा पाटे बाघका सन्तानलाई एउटी सुँगुर्नीले आफ्नो छोराछोरी बनाउन स्वीकार गरेकी छे । भर्खरै पाँच वटा सन्तानलाई जन्माएकी त्यो सुँगुर्नीले बाघका सन्तानलाई अपनाएपछि सुँगुरका छाउरा र बाघका छाउरा सँगै दूध पिउने र एकअर्कासँग खेल्ने गरेका छन् । यो घटनालाई चीनस्थित झाङजाङ सफारी पार्कका कर्मचारीहरुले ज्यादै आश्चर्यको घटनाका रुपमा लिइरहेका छन् ।रोचक के छ भने चीनमा अहिले सुँगुर वर्ष छ र यसरी सुँगुर्नीले आफूले नजन्माएका सन्तानलाई अपनाएर तिनलाई खुवाइपियाईमा ध्यान दिनु शुभसंकेतका रुपमा लिएका छन्

No comments: