Saturday, December 1, 2007

सबथोक बिक्रीमा


एक दिन अचानक ४५ वर्षीया लिजा पेरीलाई जिन्दगीबाट विरक्त लागेर आयो । तब यिनले के गरिन् भने आफ्ना सम्पूर्ण चिजबिज इन्टरनेटमा लिलामका लागि राखिदिइन् र जसले ती चिजबिजलाई बढीभन्दा बढी रकम हाल्छ, त्यसलाई जिम्मा लगाएर आफू लामो यात्रामा निस्कने योजना बनाइन् । इबे नामक लिलामी इन्टरनेट साइटमा अहिले लिजाले आफ्नो ३ सयभन्दा बढी सामाग्रीहरु लिलामीका लागि राखेकी छिन् । लिलामीमा उनले हिउँजुत्ता, आफ्नो ओछ्यान र सिरक-डसना, आफूले खिचेका फोटाहरु, सामुद्रिक अवशेष तथा यस्ता थुप्रै सामग्रीहरु- जुन उनलाई निकै प्यारा लाग्थे, ती सबै लिलामीका लागि राखेकी छिन् । त्यसो त उनले आफ्नो प्यारो कुकुर, विरालो, निजी एल्बम र निजी कपडाहरु भने लिलामीका लागि राखेकी छैनन् ।"म अब जिन्दगीको मध्यमा आइपुगेँ, तर यो मेरालागि संकटपूर्ण छैन । बरु म त मध्यजीवनमा एउटा नयाँ रमाइलो अनुभव गरिरहेकी छु । यतिबेला मलाई मैले जे जति भेला पारेँ, त्यो चाहिएको छैन । बरु म नयाँ चिज सिर्जना गर्न चाहन्छु र पुरानाहरु बिर्सन चाहन्छु", लिजाले एएफपीलाई बताइन् ।लिजा पेशाले वकिल हुन् । त्यसअघि उनले मिनेसोटा राज्यमा सञ्चार प्रोफेसरका रुपमा पढाइन् पनि । उनले नर्थ क्यारोलिनामा पुस्तक बिक्रेताका रुपमा पनि आफ्नो जीवन बिताइसकेकी छिन् । यति धेरै ठाउँमा आफ्नो जिन्दगीको आधा समय बिताइसकेपछि उनी अब आफ्नो जिन्दगीलाई अझ अर्थपूर्ण रुपमा बिताउन चाहन्छिन् र त्यसका लागि उनी पुस्तक लेख्ने र योग गर्ने विचारमा छिन् ।गएको आइतबारदेखि उनका सामानको लिलामीमा उति धेरै व्यक्तिले चासो देखाएका त छैनन् तर उनले ती सबै सामानको मूल्य करिब दुइ हजार डलर चाहेकी छिन् । धेरै रकमका कारण शायद चासो कम देखिएको छ । उनले यो मूल्य घटाउनेबारे पनि सोचिरहेकी छिन्, भन्छिन्- "म यी सामान एउटै पनि चाहन्न । त्यसैले यी सबै बिक्री हुन् भन्ने चाहेकी हुँ ।"इबेमा लिलामीको प्रयोग यति सरल र उपयोगी भइरहेको छ कि हरेक साधारण व्यक्तिले आफूले चाहेको चिजबिज खरीद र बिक्री गर्न सक्दछ । यस साइटको आठ करोड ६० लाख त आधिकारिक प्रयोगकर्ता नै छन् । जसमा २७ हजार विभिन्न क्याटगरी छन्, जसअन्तर्गत आफ्नो जेसुकै पनि किनबेच गर्न सक्तछन् । अन्य व्यवसाय चलाउन तपाइँलाई लाखौँ पर्न सक्छ, तर यसको मद्दतले बिना कुनै पैसा तपाइँका सामान खरीद बिक्री हुन सक्तछ । शायद त्यही भएका कारण यसका प्रयोगकर्ता साढे आठ करोड भएका होलान् !

No comments: