Saturday, December 1, 2007

फुच्चीको कमाल

एउटी १३ वर्षकी फुच्चीले घगडान व्यक्तिहरुलाई एसएमएस गर्ने कुरामा मात खुवाएकी छिन् । अमेरिकामा शनिबार आयोजित एसएमएस प्रतियोगितामा उनले आफूभन्दा ठूला उमेरका ३०० जनालाई उछिनेर २५ हजार डलर पुरस्कार हात पारिन् ।जब कोही घोरिएर टेक्स्ट म्यासेज (एसएमएस) टाइप गरिरहेको हुन्छ, शायद तपाइँ उसको त्यो व्यवहारबाट पक्कै क्रूद्ध भएको हुनुपर्छ । यी १३ वर्षीया मोर्गन पोज्गरका बा-आमालाई पनि उनको नानीदेखि लागेको यो बानी रुचाउँदैन थिए । तर जब उनले न्यूयोर्कमा सबैभन्दा धेरै एसएमएस गर्नसक्ने व्यक्तिलाई पुरस्कृत गर्ने प्रतियोगिता भयो, उनले त्यसमा भाग नलिई रहन सकिनन् । प्रतियोगितामा उनले मोबाइलको सानो प्याडमा समेत बन्दूकका गोलीझैँ हात चलाउँथिन्, सबै वाल्ल परेर हेरिरहन्थे । यो पुरस्कार अन्त्यमा आफ्नै हातमा परेपछि मोर्गन अहिले खुशी छिन् ।त्यसो त उनले यो प्रतियोगिता जित्न उनको विगतले पनि कम सघाएको भने छैन । उनले महिनाको २० अमेरिकी डलरको एउटा यस्तो प्याकेज लिएकी थिइन्, जसमा महिनाभरि 'अनलिमिटेड' टेक्स्ट पठाउन सकिन्थ्यो । उनले आफ्ना साथीभाइहरुलाई हरेक साढे पाँच मिनेटमा एउटा म्यासेट पठाउने गर्दथिन् । त्यति मात्र होइन, यसरी उनले एक महिनामा चार हजार टेक्स्ट पठाएर एसएमएस गर्नेहरुमध्ये सबैभन्दा छिटीका रुपमा गणनामा परिन् । उनले ४२ सेकेण्डमा १५१ शब्द मोबाइलमा टाइप गर्न सक्थिन् । यो प्रतियोगिता जितिसकेपछि उनी अहिले के भन्छिन् त - "हात गलेको छ, यति धेरै पैसा पुरस्कार पनि पाएकी छु । अब धेरै सपिङ गर्छु", मोर्गनले भनिन् ।यो प्रतियोगिता चाहिँ अमेरिकाको मोबाइल उत्पादक संस्था एलजी कम्पनीले आयोजना गरेको थियो । जसले 'भी' र 'इन भी' दुइ अलग मोबाइल बजारमा पठाएको छ । यो प्रतियोगिता चाहिँ यी दुइ मोबाइल सेटको प्रचार प्रसार गर्न आयोजन गरिएको थियो ।

No comments: